
तिहारको तेस्रो दिन लक्ष्मीपूजाका अवसरमा सोमबार साँझ देशभर विद्युत् खपत उच्च देखिएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार साँझ १६५० मेगावाट विद्युत् खपत भएको छ, जुन सामान्य दिनको तुलनामा उल्लेखनीय रुपमा बढी हो।
सोमबार साँझ ६ बजे प्रणालीमा रेकर्ड भएको पिक लोड (उच्चतम खपत) १६५० मेगावाट पुगेको छ।
गत वर्षको लक्ष्मीपूजामा भने १६०५ मेगावाट खपत भएको थियो। कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार, यस वर्ष खपत केही बढी देखिएको हो। ‘उद्योगहरू प्रायः बन्द हुने भए पनि हरेक घर, अफिस र व्यापारिक क्षेत्रहरूमा झिलिमिली बत्ती बालिने भएकाले विद्युत् खपत उच्च हुने गरेको हो,’ सिलवालले भने।
विद्युत् आपूर्तिमा सुधार भएपछि पछिल्लो केही वर्षदेखि तिहार लगायत अन्य चाडपर्वका बेला समेत लोडसेडिङ नभएको प्राधिकरणले जनाएको छ। अहिलेका ऊर्जामन्त्री कुलमान घिसिङले कार्यकारी निर्देशक रहेका बेला, २०७३ सालको लक्ष्मीपूजाको दिनदेखि काठमाडौं उपत्यकामा औपचारिक रूपमा लोडसेडिङ अन्त्य भएको घोषणा गरेका थिए।
विद्युत् आपूर्तिको भरपर्दो व्यवस्थापन र स्वदेशी उत्पादनको वृद्धिसँगै यस्ता चाडपर्वमा समेत सहज र अविच्छिन्न विद्युत् सेवा उपलब्ध भएको प्राधिकरणको दाबी छ।