भक्तपुर, कात्तिक ५ :

नेकपा (एमाले)का अध्यक्ष र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बुधवार जेनजी प्रदर्शनकारीहरूको हिंसा र तोडफोडपछि ध्वस्त बनेको भक्तपुरको बालकोटस्थित आफ्नो घरमा पुगे। पत्नी राधिका शाक्यसँगै ओली पहिलो पटक क्षतिग्रस्त घर हेर्न पुगेका हुन् । 

उनले घरको सबैतिर नियालेर हेरे । उनी जलेको बार्दलीमा गएर चारैतिर हेरे । घरभित्र बचेकुचेका केही पुस्तकका पाना पल्टाएर पनि हेरे। घरको हालत देख्दा उनी निकै भावुक देखिन्थे । ओलीसँगै एमाले नेता महेश वस्नेत लगायतका नेताहरु पनि गएका थिए ।

यसअघि पहिले नै राधिका शाक्यले उक्त घरको अनुगमन गरिसकेकी थिइन्। तर, सुरक्षा चुनौतीका कारण ओलीले आफ्ना घरमा यसअघि पुग्न सकेका थिएनन्। अब, जेनजी आन्दोलनले पारेको क्षतिको वास्तविक अवस्था देख्न र पुनःनिर्माणको प्रक्रिया थाल्नका लागि उनी सो घरमा पुगेका हुन्। घर क्षतिग्रस्त भएपछि ओली अहिले गुन्डुस्थित भाडाको घरमा बस्दै आएका छन् ।