
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार तेस्रोपटक विस्तार भएको छ ।नवनियुक्त दुई मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको सिफारिसमा डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्री पदमा शपथ गराएका हुन् ।
प्रधानमन्त्री कार्कीले आइतबार चार जनाको नाम मन्त्रिपरिषद् विस्तारका लागि सिफारिस गरेकी थिइन् । तर खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको नाममा विवाद आएपछि नाम काटियो । यससँगै प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ । उनका निकट स्रोतका अनुसार ‘अब यही टिमले निर्वाचनसम्म सरकारको जिम्मेवारी सम्हाल्ने’ तयारी छ ।
नवनियुक्त स्वास्थ्यमन्त्री डा. सुधा शर्मा सोही मन्त्रालयकी पूर्वसचिव हुन् । झण्डै १४ वर्षअघि मन्त्रालयमै रहेर मन्त्रीहरूसँग वैचारिक मतभेदका कारण उनले राजीनामा दिएकी थिइन् ।
युवा तथा खेलकुद मन्त्री बनेका बब्लु गुप्ता गुप्ता जेनजी आन्दोलनका अगुवा पनि हुन् । सामाजिक अभियन्ता गुप्ताले कोरोना महामारीका बेला निःशुल्क खाना वितरणदेखि ‘कपडा बैंक’ अभियानमार्फत् राहत सहयोग गरेका थिए । उनले स्थापना गरेको ‘हण्ड्रेड ग्रुप’ मार्फत् सामाजिक सेवा कार्यक्रम सञ्चालन गर्दै आएका छन् । मन्त्रिपरिषद्को अहिलेको संरचना हेर्दा महिला, आदिवासी, दलित तथा मधेशी समुदायको प्रतिनिधित्व भएको देखिन्छ ।
गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्को सङ्ख्या आजको विस्तारसँगै १० पुगेको छ । यसअघि गत भदौ ३० र असोज ६ गते मन्त्रिपरिषद् विस्तार भएको थियो ।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, मन्त्रीगण, प्रनिधिसभाका उपसभामुख इन्दिरा राना, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीलगायत उपस्थित थिए ।