काठमाडौं, कात्तिक ९ :

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहण गरेसँगै ‘जेन-जी आन्दोलन’ बाट प्रभावित व्यक्तिहरूका लागि मनोपरामर्श सेवा स्थापना गर्ने निर्णय गरेकी छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि उनले स्वास्थ्य मन्त्रालय पुगेर कार्यभार सम्हाल्दै उक्त निर्णयमा हस्ताक्षर गरिन्।

डा. शर्मा यसअघि स्वास्थ्य मन्त्रालयकी सचिव समेत रहेकी अनुभवी प्रशासक हुन् । मन्त्रालयभित्रको नीतिगत अनुभवका कारण उनले मन्त्री बनेलगत्तै प्रभावकारी कार्यक्रम घोषणा गरेकी हुन् ।

मन्त्री शर्माले जेन-जी आन्दोलनका क्रममा प्रभावित भएका युवाहरू, सुरक्षाकर्मी र अन्य नागरिकको मानसिक स्वास्थ्य सुधारका लागि तत्काल मनोपरामर्श सेवा स्थापना गर्ने निर्णयलाई प्राथमिकता दिएकी छन् ।

उनका अनुसार, मन्त्रालयले छोटो समयमा मनोसामाजिक सल्लाह, उपचार र पुनर्स्थापनाका कार्यक्रम लागू गर्ने तयारी अघि बढाउनेछ ।