काठमाडौं, कात्तिक १३ :

राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले प्रतिनिधिसभाको आगामी निर्वाचनको शान्ति सुरक्षाका बिषयमा सरकारसँग जानकारी लिने भएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकमा समितिको आगामी कार्ययोजनाका बारेमा छलफल गर्दै निर्वाचनको शान्ति सुरक्षाका बिषयमा सरकारसँग छिटै जानकारी लिने तयारी गरिएको सभापति सोनाम गेल्जेन शेर्पाले जानकारी दिए । 

त्यसैगरि आगामी राष्ट्रियसभाको निर्वाचनका बिषयका साथै विभिन्न आयोजनाको बजेट कटौती गर्ने सरकारको निर्णयको सम्बन्धमा समेत जानकारी लिने उनले बताए । उनले समितिको बैठकमा छलफल हुने विषयहरुलाई प्राथमिकीकरण गर्दै नयाँ कार्ययोजना आगामी बैठकले अनुमोदन गर्ने जानकारी दिए ।

सभापति शेर्पाले राष्ट्रियसभाको बैठक सञ्चालन गर्ने बिषयमा राष्ट्रियसभा अध्यक्षले पहल गरिरहेको र सभापतिहरुसँग पनि छलफल भइसकेको बताए । समिति सदस्यहरुले प्रतिनिधिसभा नरहेको अवस्थामा राष्ट्रियसभाका समितिलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।