दिनभरी मध्यम वर्षा भएपछि आज रातिदेखि भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीकाअनुसार २४ घण्टा अवधिभर ४० मिलिमिटर वर्षा भएको छ ।
‘यसलाई मध्यम वर्षा भनिन्छ, ५० मिलिमिटर वर्षा पुगेपछि मात्रै भारी वर्षा भन्न मिल्छ’, मौसमविद् अधिकारीले भने, ‘आज रातिबाट भने भारी वर्षा हुने सम्भावना छ ।’
उनले आज दिनभरी बाग्मती, कोशी, मधेस प्रदेशलगायत क्षेत्रमा मध्यम वर्षा भइरहेको बताए । जसमा गण्डकी र लुम्बिनीमा स्थान विशेष फाटफुट पानी परेको उहाँले जानकारी दिए । त्यसैगरी गण्डकी, बागमती प्रदेशका उच्च हिमाली भेगमा हिमपातसहितको बर्सात भएको छ ।
बुधबारदेखि परेको वर्षा कात्तिक १५ गते शनिबारसम्म रहने मौसम विज्ञान विभागले जनाएको छ । यसका लागि सर्तकता अपनाएर सुरक्षित हुन आह्वानसमेत गरिएको छ । नेपालमा पदयात्राका लागि जाँदा मौसम बारे जानकारी लिएर हिँड्न अनुरोध विभागले गरेको छ ।
त्यसैगरी धान काट्ने समय रहेकाले काटन् बाँकी रहेका किसानले मौसमको अवस्था हेरेर मात्रै काट्न सुझाव दिएका छन् । भारी वर्षाको सम्भावना भएकाले धान काटिहाल्ने अवस्था नरहेको मौसमविद्को सुझाव छ ।
बीपी राजमार्ग १३ र १४ गते राति बन्द
यसैबीच, लगातारको वर्षा र पहिरोको उच्च जोखिमका कारण जिल्ला प्रशासन कार्यालय काभ्रेलगायत सम्बन्धित निकायको समन्वयमा बीपी राजमार्ग आज कार्तिक १३ गते साँझ ५:०० बजेदेखि भोलि कार्तिक १४ गते बिहान ६:०० बजेसम्मका लागि पूर्ण रूपमा बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले आज जारी गरेको सूचनामा जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी घण्टाहरूमा समेत भारी वर्षा हुने भएकाले सवारी आवागमनमा पूर्ण प्रतिबन्ध लगाइएको उल्लेख छ। यस अवधिमा अत्यावश्यकबाहेकका सवारी साधन तथा यात्रुलाई राजमार्ग प्रयोग नगर्न आग्रह गरिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
गोँगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना
परराष्ट्रमन्त्री खनाललाई १३औँदेखि २०औँ शताब्दीसम्मका आठ सयभन्दा बढी ऐतिहासिक दस्तावेज हस्तान्तरण