काठमाडौं, कात्तिक १३ :

नेपाली फुटबलको दिर्घकालीन विकासका लागि अध्ययन गर्न कार्यदल गठन गरिएको छ ।

बिहीबार सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा खेलकुदमन्त्री बब्लु गुप्ता र एन्फा पदाधिकारीबीच भएको छलफलले फुटबलको दिर्घकालीन बिकासका लागि अध्ययन गर्न पाँच सदस्यीय कार्यदल गठन गरिएको एन्फा महासचिव किरण राईले जानकारी दिए ।

एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरको संयोजकत्वमा गठन गरिएको कार्यदललाई पाँच दिनभित्र फुटबलको विकासको खाका प्रस्तुत गर्न खेलकुद मन्त्रीले निर्देशन दिएको राईले बताए ।

त्यस्तै ए डिभिजन लिगका सन्दर्भमा समेत मन्त्री गुप्ताले चासो व्यक्त गरेका थिए । क्लवहरु तयारी भए ए डिभिजन लिग आयोजना गर्न आफूहरु तयार रहेको जानकारी गराएको महासचिव राईले जानकारी दिए । ए डिभिजन लिग सञ्चालन गर्न ३० देखि ४० करोडको खर्च हुने भएपनि मन्त्रालयबाट ४० लाख मात्रै बिनियोजन गर्दा समस्या भएको उनले बताए। उनले लिगका लागि मन्त्रालयबाट आवश्यक सहयोग हुने प्रतिबद्धता आएको बताए ।

त्यस्तै छलफलमा सहभागी ए डिभिजन क्लवका प्रतिनिधिहरुले आफूहरु खेलका लागि तयार रहेपनि एन्फाले समयमा नै प्रतियोगिता आयोजना गर्न नसकेको जनाएका थिए । अहिलेको अवस्थामा होम अवे खेल खेल्न नसक्ने उनीहरुले जनाएका थिए ।