
बाढीपहिरो देशका मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरी ट्राफिक व्यवस्थापन महाशाखाले शुक्रबार बिहान प्रकाशित गरेको सूचनाअनुसार कुल ११ स्थानमा राजमार्ग अवरुद्ध रहेका छन् ।
प्रहरीका अनुसार संखुवासभाको भोटखोला गाउँपालिका–४ शरण खोला, इलाममा मेची राजमार्ग, पाँचथरमा च्याङथापु–भोटखोला सडकखण्ड, ओखलढुंगाको मनमायाँ–सिद्धिचरण सडकखण्ड लगायतका क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको जनाएको छ ।
त्यस्तै बागमती प्रदेशमा काभ्रेपलान्चोक, सिन्धुली, नुवाकोट, रामेछाप र रसुवामा गरी पाँच स्थानमा सडक अवरुद्ध भएका छन् ।गोसाईकुण्ड–स्याफ्रुबेँसी, नारायणथुम–मुल्खार, खाँडादेवी–ठोक्सेचौर लगायतका सडकखण्डमा पहिरोका कारण आवागमन ठप्प भएको प्रहरीले जनाएको छ ।
गण्डकी प्रदेशमा म्याग्दी र मुसिकोटमा दुई स्थानमा, लुम्बिनी प्रदेशमा अर्घाखाँचीमा एक स्थानमा, र कर्णाली प्रदेशमा डोल्पाको त्रिपुरासुन्दरी–खोलगाउँ सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । यातायात अवरुद्धका कारण लामो दूरीका यात्रुहरू अलपत्र परेका छन् भने मालसामान ढुवानीमा पनि असर परेको छ ।
यसैबीच,अविरल वर्षासँगै राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकखण्डको आधादर्जन स्थानमा पहिरोले क्षति पुर्याएको छ । जोमसोमदेखि कागबेनी र कागबेनीदेखि छुसाङसम्मको विभिन्न स्थानमा पहिरो खस्दा सडकमा यातायात सेवा अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
जोमसोम–कागबेनी सडकअन्तर्गत जोमसोमदेखि कागबेनी जाने पाण्डा खोला नजिकको तीन स्थानमा पहिरोले सडक संरचनामा क्षति पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए।
उनका अनुसार जोमसोमदेखि दुई किलोमिटरमाथिको कालोपत्र सडक भाँसिएर सडक जोखिम बढेको जानकारी दिए । निरन्तरको वर्षाले जोमसोमदेखि केहीमाथि करिब २५ मिटर सडक भासिन पुगेको प्रमुख जिल्ला अधिकारी भुसालले बताए ।
बिहीबार साँझ पाण्डा खोलाको बाढीले सडक संरचनामा क्षति पु¥याएको छ । यद्यपि सुरक्षा नियकायले हाललाई कामचलाउ रुपमा भए पनि यातायात सञ्चालनमा ल्याएको उनको भनाइ छ ।
जोमसोम–कागबेनी सडकखण्डको चार स्थानमा सडक माथिबाट पहिरो खस्नेक्रम जारी रहेकाले जोमसोमदेखि कागबेनी जाने मुक्तिनाथ दर्शनार्थीलाई जोमसोममै रोकिएको छ । ‘मुक्तिनाथ–जोमसोम सडकका विभिन्न ठाउँमा पहिरो खस्नेक्रम जारी छ, हामीले माथि रोकिएका सवारी तथा यात्रुलाई एकतर्फी सडक खुलाएर भए पनि तल झाने प्रयास गरिरहेका छौँ’, प्रमुख जिल्ला अधिकारी भुसालले भने, ‘जोमसोमबाट मुक्तिनाथ र कोरलातर्फ जाने सवारीसाधनलाई माथि जान रोक लगाएका छौँ ।’
प्रमुख जिल्ला अधिकारी भुसालले वर्षा रोकिएमा सडकको अवस्था हेरेर मात्रै सडक माथि जान दिइने बताए । यसैगरी जोमसोम–कागबेनी सडकमा पहिरो खस्दा एक सार्वजनिक भाडाको ट्याक्सीमा क्षति पुगेको छ भने पहिरो गएको स्थानमा एक भारतीय कार फसेर बसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । पहिरोका कारण फसेको भारतीय गाडीलाई निकाल्ने प्रयास भइरहेको उनको भनाइ छ ।
बाढीपहिरोले कागबेनी–छुसाङ सडकखण्डको आधा दर्जन स्थानको सडक अवरुद्ध भएको छ ।
वर्षाका कारण सडक अवरुद्ध भए अलपत्र १७ जना यात्रीहरुलाई बारागुङ–३ स्थित ग्रीन ताङ्वे घरमा लगेर राखिएको वडाध्यक्ष गुरुङले बताए। वर्षा रोकिएपछि उनीहरुलाई गाउँले बस्ती नजिक ल्याउने योजना रहेको बताए।
अवरुद्ध जोमसोम–कागबेनी सडकको आज बिहान प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरी र प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामालगायतका सुरक्षाकर्मीले अवलोकन गरे । जोमसोम–कागबेनी भासिएको सडक मर्मत गरी सञ्चालनमा ल्याउन दुई/तीन दिन लाग्नसक्ने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।