गोरखा, कात्तिक १४ :

मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिएकी छन् । चुमनुब्री–३ न्याक फेदीनेर खसेको पहिरोले चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा पुरिएकी उनका गाइड रमेश भट्टले जानकारी दिए  ।

न्याक फेदीभन्दा केहीमाथि भिरमा आज दिउसो २ बजेतिर घटना भएको उनले बताए । ‘भिरबाट झरेको ढुङ्गाले उनलाई पुरेको छ । टाउको मात्र देखिएको छ, उनले भने, ‘उनको श्रीमान् र मचाहिँ सकुशल छौँ ।’

त्यतिबेला ठूलो पर्यटकको समूह रहेको उनले बताए । ‘उहाँ पुरिए पनि पहिरोको डरले कसैले उद्धार गर्न सकेनन्’, उनले भने । घटनास्थल बस्तीबाट धेरै टाढा रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए । त्यसतर्फ फिलिम चौकीबाट प्रहरी पठाइसकिएको उनले बताए ।