काठमाडौं, कात्तिक १५ :

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टीको महाभिवेशन आयोजन समितिको सचिवालय बैठकमा नेकपा एकीकृत समाजवादीसँगको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुन सक्ने चेतावनी दिएका छन्।

पार्टीको मुख्यालय पेरिसडाँडामा जारी सचिवालय बैठकमा शर्माले भने, ‘हतारको एकताले केही नेताहरूको व्यक्तिगत स्वार्थ पूरा गर्न सक्छ, तर यसले आम कम्युनिष्ट आन्दोलनका लागि प्रतिकूल परिणाम ल्याउनेछ। त्यसैले, उपयुक्त गृहकार्य र वैचारिक स्पष्टता बिना गरिएको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुनेछ।’ शर्माले हतारमा एकता गर्न नहुनेमा जोड दिँदै दीर्घकालीन र प्रभावकारी एकताको पक्षमा आफ्नो धारणा राखेका छन्।

सचिवालय बैठकमा पार्टी संयोजक प्रचण्डले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका बीचका एकताका सैद्धान्तिक र नीतिगत विषयहरू टुंगिएको जानकारी गराए। 
प्रचण्डले भने, ‘संगठनात्मक विषय पनि नेतृत्व तहमा करिब-करिब टुंगिएको छ, तर दुवै संगठनलाई एकताबद्ध गरेर अघि बढ्ने प्रक्रियामा छलफल जारी छ।’

बैठकमा प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, हरिबोल गजुरेल, अग्नि प्रसाद सापकोटा र मात्रिका यादव लगायतका नेताहरू सहभागी थिए।