
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आन्तरिक नेतृत्व परिवर्तनका लागि आगामी पुस महिनामा महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन्।
शुक्रबार बिहान काठमाडौंको विशाल नगरस्थित आफ्नै सम्पर्क कार्यालयमा उपत्यकास्थित आफूनिकट जिल्ला सभापतिहरूसँगको छलफलमा कोइरालाले समानुपातिकतर्फको बन्दसूची बुझाएपछि पुसको तेस्रो साता महाधिवेशन गर्ने सुझाव दिएका हुन्।
छलफलमा सहभागी एक जिल्ला सभापतिको भनाइअनुसार कोइरालाले भने, ‘मेरो पहिलो माग निर्वाचनअघि नियमित महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नुपर्छ भन्ने हो। बरु महामन्त्रीले प्रस्ताव गरेको कार्यतालिका एक साता सारेर पुस २५ गतेसम्म समानुपातिक सूची बुझाएर त्यसपछि महाधिवेशन गर्न सकिन्छ।’
कोइरालाले आगामी २१ फागुनमा हुन सक्ने निर्वाचनमा पार्टीले नयाँ नेतृत्वसहित जानुपर्नेमा आफू स्पष्ट रहेको बताए। कोइरालाले नियमित वा विशेष महाधिवेशनबारे निर्णय पार्टीको केन्द्रीय कार्यसमितिले नै गर्नुपर्ने उल्लेख गरे। केन्द्रीय समितिले महाधिवेशनको निर्णय नगरे र समानान्तर भेला गरे पार्टी संकटमा पर्ने चेतावनी दिँदै कोइरालाले वर्तमान विवाद समाधानका लागि सबै नेतासँग संवाद अघि बढाउने बताएका छन्।
छलफलमा रूपन्देही, चितवन, खोटाङ, नुवाकोट, धादिङ लगायतका जिल्ला सभापतिहरू, केही पूर्वजिल्ला सभापति, प्रदेश कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ र डा. गोविन्दराज पोखरेल सहभागी थिए।