काठमाडौं, कात्तिक २३ :

कागेश्वरी मनोहरा नगरपालिकाको स्वास्थ्य शाखाले आर्थिक वर्ष २०८१/८२ को जनस्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा गरेको छ। गत बुधबार सम्पन्न कार्यक्रममा नगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरूको कार्यसम्पादन मूल्यांकन गरी उत्कृष्ट स्वास्थ्य संस्थाहरूलाई सम्मान गरिएको छ।

मूल्यांकनका आधारमा वडा नम्बर–२ मा रहेको आलापोट स्वास्थ्य चौकी प्रथम, वडा नम्बर–५ को डाँछी स्वास्थ्य चौकी द्वितीय, र कागेश्वरी मनोहरा नगर अस्पताल तृतीय घोषित भएका छन्।

स्वास्थ्य संस्थाको कार्यसम्पादन मूल्यांकन सेवा प्रवाह, सूचना आदानप्रदान, कार्यालय व्यवस्थापन, प्रविधिको प्रयोग र ज्ञान लगायतका सूचकका आधारमा उत्कृष्ट स्वास्थ्य संस्था घोषणा गरिएको हो। ती सूचकहरूमा उत्कृष्ट स्कोर गर्दै आलापोट स्वास्थ्य चौकी पहिलो बनेको हो।

उत्कृष्ट स्वास्थ्य संस्थाहरूलाई नगरप्रमुख उपेन्द्र कार्की, जनसंख्या व्यवस्थापन महाशाखाका तथ्यांक अधिकृत पुस्कर बिजुक्छे, स्वास्थ्य कार्यालय टेकुकी भेक्टर कन्ट्रोल निरीक्षक गीता आचार्य र परिवार नियोजन संघका सरद अर्याल लगायतले प्रमाणपत्र वितरण गरेका थिए।

समीक्षा कार्यक्रममा बोल्दै नगरप्रमुख कार्कीले यस्तो अभ्यासले सेवा गुणस्तर सुधार, कमजोरी पहिचान, स्रोतको प्रभावकारी उपयोग र संस्थागत पारदर्शिता र जवाफदेहितामा सहयोग गर्ने विश्वास व्यक्त गरे।

साथै उनले विगत वर्षभरि नगरपालिकाले गरेका कामको मूल्याङ्कन गर्दै सफलतासँगै सुधार आवश्यक पक्षहरू पहिचान गर्न समीक्षा उपयोगी हुने बताए। मेयर कार्कीले भने, ‘के के राम्रो गरियो र के के राम्रो गर्न सकिएन भन्ने मूल्याङ्कनकै माध्यमबाट हामीलाई अगाडि बढ्ने बाटो खुल्दै जान्छ। सरकारको लक्ष्यलाई स्थानीय तहमै पूरा गर्ने गरी हामी अघि बढिरहेका छौँ।’

नौवटा वडा र करिब डेढ लाख जनसङ्ख्या भएको नगरपालिकामा हाल तीनवटा बर्थिङ सेन्टर, एक नगर अस्पताल र अन्य स्वास्थ्य चौकीमार्फत स्वास्थ्य सेवा सञ्चालन भइरहेको उल्लेख गर्दै नगरप्रमुख कार्कीले जनस्वास्थ्यका लक्ष्यहरू अपेक्षित रूपमा अघि बढिरहेको बताए।

यस्तै प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले वर्षभरिका उपलब्धिहरू कार्यसम्पादनका प्रमाणका रूपमा प्रस्तुत गरिनु आवश्यक रहेको बताए। उनले भने, ‘हामीले काम गरेर देखाउनुपर्छ। यही क्रममा स्वास्थ्य चौकीहरूको मूल्याङ्कन पनि गरियो, जहाँ सही इन्डिकेटर प्रयोग गरेर मूल्याङ्कन गरिएको छ। समग्रमा परिणाम सन्तोषजनक छ।’

त्यस्तै, स्वास्थ्य शाखा प्रमुख तुलाजा लामाले सबै स्वास्थ्य संस्थाहरूले गत वर्षको तुलनामा स्वास्थ्य सूचकमा प्रगति हासिल गरेको जानकारी दिइन्।

वार्षिक समीक्षा कार्यक्रममा सबै स्वास्थ्य संस्थाका प्रतिनिधि र ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमअन्तर्गत कार्यरत नर्सहरूले समेत आफ्नो वार्षिक उपलब्धि प्रस्तुत गरेका थिए। यस समीक्षाले आगामी वर्षका कार्यक्रमहरू अझ प्रभावकारी बनाउन सहयोग पुग्ने स्वास्थ्य शाखाले जनाएको छ।

नगरपालिकामा ९ वटा स्वास्थ्य संस्था र १ वटा नगर अस्पतालसहित १० वटा स्वास्थ्य संस्था रहेका छन्। यो नगरपालिका विकास र सुशासनमा फट्को मार्दै स्थानीय निकायमा अरु भन्दा फरक ढंगले अगाडि बढिरहेको छ ।