
नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले नयाँ राजनीतिक दल दर्ता गर्ने तयारी अघि बढाएका छन्। उनले आइतबार निर्वाचन आयोगमा पुगेर दल दर्ताको पहल गरेका हुन्।
चौधरीले आफू कारागारमा बस्दा राजनीति गहिरो रूपमा अध्ययन गरेर बाहिर आएको भन्दै अब ‘देश बनाउने डिपिआर’ लिएर अघि बढ्ने घोषणा गरेका छन्।
उनका अनुसार कारागारमा रहेका आठ वर्षकै अवधिमा उनले देश निर्माणका लागि योजनाबद्ध खाका तयार पारेका हुन्। ‘८ वर्ष कारागारमा रहेर अध्ययन गरेको राजनीतिक युनिभर्सिटीले मलाई छुट्टै एउटा देश बनाउने डिपिआर खडा गर्न बाध्य बनायो,’ चौधरीले भने।
उनले जनताको इच्छा र आकांक्षा पूरा गर्नु हरेक नागरिकको कर्तव्य भएको उल्लेख गर्दै राजनीतिमा परिवारभन्दा देश र जनता अगाडि हुने बताए। ‘राजनीतिमा परिवार भन्ने हुँदैन, पहिला जनता र त्यसपछि देश हुन्छ,’ चौधरीले भने।
उनले आगामी दिनमा जनताको अपेक्षा र आकांक्षा समेट्दै नयाँ दलमार्फत देश विकासको अभियान अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।