
काठमाडौं, कात्तिक २५ :
सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत वा कार्यकारी निर्णय नगर्न आदेश दिएको छ।
न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले मंगलबार अन्तरिम आदेश जारी गरेको हो। अदालतले मुख्यमन्त्री यादवलाई मधेस प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनैपनि निर्णय नगर्न र नगराउन निर्देशन दिएको छ।
यो आदेश मुख्यमन्त्री नियुक्तिविरुद्ध रकिप्रसाद साहले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि आएको हो। अदालतले मुद्दाको अन्तिम टुंगो नलागेसम्म आदेश कायम रहने जनाएको छ। मधेस प्रदेशको सरकार संविधानको धारा १६८(३) अनुसार गठन गरिएको थियो।
यसैबीच, मुख्यमन्त्री यादवले सर्वोच्चले नियुक्ति असंवैधानिक भनी ठहर गरे एक मिनेट पनि पदमा नबस्ने घोषणा गरेका छन् ।