काठमाडौं, कात्तिक २६ :

 नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा तत्कालीन संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले पार्टीले प्रतिनिधिसभा पुनःस्थापनालाई औपचारिक एजेन्डा बनाउन आग्रह गरेका छन्।

घिमिरेले केही दिनअघि विघटित संसद्‌का सांसदहरूमार्फत हस्ताक्षर संकलन गरेका थिए। उनका अनुसार तत्कालीन ८८ मध्ये ४४ सांसदले पुनःस्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्।

‘संसद्‌ विघटन असंवैधानिक भएको पार्टीले पहिले नै निर्णय गरिसकेको छ,’ घिमिरेले भने, ‘त्यो असंवैधानिक कदम सच्चाउने भनेको प्रतिनिधिसभा पुनःस्थापनाकै माध्यम हो।’

उनका अनुसार पार्टीले पुनःस्थापनाको एजेन्डा नलिएर चुनावमा जान खोजे तत्कालीन सांसदहरूले सर्वोच्च अदालतमा जान अनुमति दिनुपर्ने माग गरेका छन्।

यसैबीच, कांग्रेस बैठकमा सदस्यहरूले बोल्ने क्रम सकिएपछि पदाधिकारीहरूको धारणा सुन्न थालिएको छ। संस्थापन र इतर पक्षबीच महाधिवेशनबारे विवाद अझै टुंगिएको छैन।

संस्थापन पक्षले पुस मसान्तसम्म नियमित महाधिवेशन नभए विशेष महाधिवेशन बोलाउनुपर्ने माग गरेको छ। यसअघि नियमित महाधिवेशनको पक्षमा रहेका नेता शेखर कोइराला पनि अब विशेष महाधिवेशनको पक्षमा उभिएका छन्।

विधानअनुसार, विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले आफैं वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरमा बोलाउन सकिन्छ। असोज २९ गते नै ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको माग गरिसकेका छन्।