
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नागरिक हितका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य अपरिहार्य भएको बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतको आयोजनामा आजदेखि वीरेन्द्रनगरमा सञ्चालन भएको ‘प्रदेश तथा स्थानीय तहबीच अन्तरसरकार सम्बन्धका सवालमा छलफल तथा अन्तर्क्रिया ’ को समापन समारोहमा मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माण तथा सेवा प्रवाहमा तीनै तहका सरकारहरूको सहकार्य र समन्वयको अभावले नागरिक असन्तुष्टि बढ्दै गएको बताए ।
दोहोरोपन, अधुरा काम र गुणस्तरहीन विकासबाट जोगिन सहकार्यको आवश्यकता रहेको बताउँदै उनले भने, ‘भूगोल सबैको एउटै हो । त्यसैले विकास निर्माणमा सहकार्य र समन्वय हुन सकेमात्र जनताले प्रत्यक्ष लाभ पाउँछन् । अहिलेको परिवर्तित अवस्थामा जननिर्वाचित निकाय प्रदेश र स्थानीय तहबीचको सम्बन्ध अझ सुदृढ गर्दै जानुपर्छ ।’
आन्दोलनपछि बनेको गैरदलीय सरकारले प्रदेश र स्थानीय तहलाई आफ्नो युनिट हो कि जस्तो गरी गरेको पत्राचार तथा व्यवहारमा पछिल्लो समय सुधार भएको उनको भनाइ थियो । दलको विश्वसनीयता पुनःस्थापना गर्न जनताको समर्थन पाउनेगरी काम गर्नुपर्नेमा पनि उनले जोड दिए ।
मुख्यमन्त्री कँडेलले भने, ‘जनताको विश्वास जित्ने गरी काम गर्न सकेमात्र राजनीति बलियो हुन्छ । हामी आफ्नो आम्दानी बढाउने गरी गच्छेअनुसारको सरकार चलाउने व्यवस्थामा छौँ ।’
प्रदेश र स्थानीय दुवै सरकारको विकास र जनसेवा गर्ने उद्देश्य भएकाले प्रतिस्पर्धा होइन नभई सहकार्यबाट मात्र कर्णालीको विकास सम्भव हुने मुख्यमन्त्री कँडेलको भनाइ थियो । दुईदिने अन्तर्क्रियामा दश जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख तथा २५ नगरपालिकाका नगरप्रमुख/उपप्रमुख र ५४ गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षसहित कर्णाली सरकारका प्रमुख सचिवदेखि पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहेको थियो ।