
तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन् ।
भानु नगरपालिकास्थित सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने प्रयोगात्मक सीप सिकाउन थालेका हुन् ।
पढाइसँगै जीवन उपयोगी सीपलाई जोड्ने भानु नगरपालिका- ८ स्थित मनोहर माध्यमिक विद्यालयले विद्यार्थीलाई टपरी बुन्ने सीप सिकाउन थालेको प्रधानाध्यापक हरिमा नेपालीले जानकारी दिनुभयो ।
पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यसहित विद्यार्थीलाई दुना, टपरी बनाउने सीप प्रदान गरिएको नेपालीको भनाइ छ ।
त्यस्तै भानु नगरपालिका- ६ सिम्पानीस्थित प्रभात आधारभूत विद्यालयले मकैको खोस्टाबाट विद्यार्थीलाई चकटी बनाउने सीप सिकाएको छ । विद्यालयले ‘पुस्तक रहित शुक्रबार’ कार्यक्रम मार्फत प्रत्येक हप्ताको शुक्रबार सीपमूलक तालिम सञ्चालन गर्न थालेको हो ।
व्यास नगरपालिकाले दुई टुहुरा विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । व्यास नगरपालिका- १३ छाब्दी निवासी दुई टुहुरा बालबालिकालाई अध्ययन, खानबस्नको सम्पूर्ण व्यवस्थापन गर्ने गरी नगरपालिकाले अभिभावकत्व ग्रहण गरेको हो ।
बाबुआमा बितेपछि अरुको घरमा काम गर्न बसेका दुवै जनालाई आइतबार नगरप्रमुख वैकुण्ठ न्यौपाने, वडाध्यक्ष बसन्त आलेले अभिभावकत्व ग्रहण गर्दै नगरपालिकाले स्थापना गरेको व्यास नगर समता विद्यालयमा भर्ना गरिएको छ ।