काठमाडौं, कात्तिक २८ :

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दललाई औपचारिक रूपमा दर्ताका लागि आह्वान गरेको छ।

आयोगले शुक्रबार जारी गरेको सूचनाअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर १ देखि १० गतेसम्म र राष्ट्रियसभा निर्वाचनका लागि मंसिर १ देखि ७ गतेसम्म दल दर्ता खुला गरिएको छ।

आयोगले दल दर्ताका लागि केन्द्रीय समितिको निर्णय प्रतिलिपि, वार्षिक लेखापरीक्षण प्रतिवेदन तथा अन्य आवश्यक कागजातसहित निवेदन पेस गर्न आग्रह गरेको छ। साथै दुई वा दुईभन्दा बढी दलले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुन चाहेमा त्यससम्बन्धी जानकारी पनि निवेदनसँगै बुझाउनुपर्ने जनाइएको छ।

सूचनामा दलको विधान, नियमावली, घोषणा पत्र, चुनाव चिह्नको नमुना तथा सोको विद्युतीय प्रतिलिपि पेस गर्नुपर्ने उल्लेख छ। आगामी फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने एक तिहाइ सदस्यका लागि माघ ११ गते र प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते चुनाव तोकिएको छ।