काठमाडौं, कात्तिक ३० :

गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको जनभावना अनुरूप सक्रियतापूर्वक काम गर्न गृह प्रशासनलाई निर्देशन दिएका छन्। आइतबार गृहसचिव रामेश्वर दङ्गालको अध्यक्षतामा गृहमन्त्रालयमा बसेको नियमित एसएमटी बैठक गृहमन्त्री अर्यालले समग्र गृह प्रशासन निर्वाचन तयारीमा केन्द्रित हुनुपर्ने बताए।

मन्त्री अर्यालले अहिलेको सरकार मूलतः निर्वाचनमै केन्द्रित रहेको उल्लेख गर्दै पुराना संरचना र ऐन–नियममा मात्र सीमित नबसिकन प्रविधिको प्रभावकारी प्रयोगद्वारा निर्वाचनलाई सहभागीमूलक बनाउन कर्मचारीलाई निर्देशन दिए।
‘प्रविधिको प्रयोगमार्फत जनताले मताधिकार सुरक्षित रूपमा प्रयोग गर्न सक्ने वातावरण बनाउनु सबैको जिम्मेवारी हो,’ उनले भने।

विभागीय प्रमुखहरूलाई मातहतका कार्यालयको काम प्रभावकारी बनाउन निर्देश गर्दै मन्त्री अर्यालले अधिकतम कर्मचारीलाई जनसरोकारका विषयमा चासो देखाई सेवाग्राहीको आवश्यकतासहित फिल्डमै उपस्थित भएर सेवा प्रवाह गर्न आग्रह गरे।

गृह मन्त्रालयमा स्थापना गरिएको जेनजी समन्वय समिति तथा पीडितका गुनासा सुनिने र सम्बोधन हुने प्रणालीलाई थप प्रभावकारी बनाउन उनले मातहत निकायलाई निर्देशन दिए। बाहिर फैलिन सक्ने भ्रमपूर्ण कथन चिर्न सक्षम संस्थागत प्रतिक्रिया आवश्यक रहेको पनि उनले बताए।

बैठकमा मन्त्री अर्यालले घाइते राहत कार्यविधि छिट्टै टुङ्ग्याउने तयारी भएको जानकारी दिँदै जेनजी घाइतेलाई फिल्डमै राहत कार्ड वितरण गर्न सम्बन्धित निकायलाई आदेश दिए।

गृहसचिव रामेश्वर दङ्गालले मन्त्रालय र मातहतका कर्मचारीको कार्यसम्पादनप्रति आफू सन्तुष्ट रहेको बताए। बैठकमा मन्त्रालयअन्तर्गतका विभागीय प्रमुख, महाशाखा तथा शाखा प्रमुखहरूले आफ्नो-आफ्नो क्षेत्रका प्रगति तथा अवस्थाबारे जानकारी गराएका थिए।