काठमाण्डौँ , असोज ८ :

हुम्ला सिमकोट गाउँपालिका- ७ ओखरेनको पातिहाल्नमा रहेको नेपाल टेलिकमको सेवा २४ सै घण्टा सञ्चालन गर्न विद्युत् सेवा जडान सुरु गरिएको छ । 

विद्युत जडानका लागि ट्रान्समिटर सुर्खेतबाट सिमकोट पुर्‍याइएसँगै विद्युत् सेवा जडानका लागि जनशक्ति खटाइएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताउनुभयो ।

खार्पुदोभानमा एक महिना रोकिएको तीन सय पाँच क्विन्टलको ट्रान्समिटर शनिबार जिल्ला प्रहरी कार्यालय र खार्पु दोजाम प्रहरीचौकी प्रहरीको सहयोगमा पुल तारेर सिमकोट ल्याइएको उहाँले बताउनुभयो । 

नेपाल विद्युत् प्राधिकरण हुम्लाले ट्रान्समिटर राख्नका लागि दुईवटा विद्युत् पोल पनि उपलब्ध गराएको छ ।

सुर्खेतबाट सिमकोट हुँदै पातिहाल्न सम्मको ढुवानी उत्तरी नाम्खा र सिमकोट गाउँपालिकाले बेहोर्ने अध्यक्ष भण्डारीले बताउनुभयो । 

ट्रान्समिटरसहित प्राविधिकको टोली लिएर नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामा त्यहाँ पुगेका छन् ।

उक्त स्थानमा रहेको टावरले नाम्खाका तीनवटा वडा र सिमकोटका दुई वडामा सेवा प्रवाह गरिरहेको छ । 

नाम्खा गाउँपालिकाका- १, २, ३ र सिमकोट गाउँपालिका- ७, ८ नं वडाका नागरिकले टेलिफोन सेवाको उपभोग गर्दै आएका छन् ।

त्यस क्षेत्रमा जडान गरिएका जस्तापाता पुराना भएर घाम लागेको समयमा काम गरे पनि अन्य समयमा भने सेवा अवरुद्ध हुँदै आएको थियो ।