
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पछिल्ला दिनहरुमा सामाजिक सञ्जालहरुमा सार्वजनिक भइरहेका आफूसँग सम्बन्धित विभिन्न समाचार तथा आरोपहरू पूर्णतः निराधार भएको स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले न्यायपालिकामा एनजीओ–आइएनजीओ भित्र्याएको, विमानस्थलका ठेक्काहरूमा संलग्न भएको तथा डोल्पा क्षेत्रमा लगानी गरेको आरोप असत्य र मनगढन्ते भएको उल्ल्ख गरेका छन्।
‘न्यायपालिकामा म रहँदा एनजीओ–आइएनजीओ भित्र्याएँ रे, एयरपोर्टमा ठेक्का लिएँ रे, डोल्मा इम्प्याक्ट फन्डमा लगानी गरेँ रे यी सबै पूर्ण रूपमा असत्य हुन्,’ पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, ‘यी आरोप तथ्यले पुष्टि गर्न म चुनौती दिन्छु।’
उनले आफू कुनै पनि प्रकारका ठेक्कापट्टा वा ठेकेदार गतिविधिमा संलग्न नभएको स्पष्ट पार्दै यस्ता मिथ्या प्रचार–प्रसारले आफू दिक्क भएको टिप्पणी गरे। साथै, नेपाली जनताले सही सूचना पाउने अधिकार रहेको उल्लेख गर्दै उनले तथ्यगत आधाररहित आरोपमा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरे।
श्रेष्ठले आधाररहित र भ्रमपूर्ण जानकारीबाट सचेत रहन सबैलाई अपिल गर्दै यस्ता प्रचारले न्यायपालिकालगायत सार्वजनिक संस्थामा अविश्वास फैलाउन नहुने कुरामा जोड दिएका छन् ।