काठमाडौं, मंसिर ६ :

नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने निर्णय गरेको छ। शनिबार, पार्टी कार्यालय सानेपामा भएको केन्द्रीय कार्यसमितिको बैठकले आगामी निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको हो। बैठकले निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा, वर्तमान राजनीतिको सही निकास भनेको निर्वाचन नै हो भन्ने ठहर गरेको छ ।,

पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बैठकको निर्णय सार्वजनिक गर्दै भने, ‘नेपाललाई अघि बढाउन र जनआन्दोलनका मूल्यलाई संस्थागत गर्न निर्वाचन महत्वपूर्ण अवसर हो भन्ने कांग्रेसको दृढ विश्वास छ।’

बैठकले प्रतिनिधिसभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने निर्णय पनि गरेको छ। यद्यपि, बैठकमा निर्वाचनको निष्पक्षता र विश्वसनीयतामा चिन्ता व्यक्त गर्दै, ‘भयरहित वातावरण निर्माण गर्न अत्यावश्यक रहेको छ,’भनिएको छ।

पार्टीको निष्कर्ष अनुसार, हालको राजनीतिक परिस्थितिमा हजारौँ कैदीबन्दी फरार हुनु, ठूलो परिमाणमा हातहतियार हराउनु र राजनीतिक दलहरूको स्वतन्त्रता सीमित हुनु गम्भीर चिन्ता विषय बनेको छ। यसै कारण, कांग्रेसले सरकार, निर्वाचन आयोग र अन्य सम्वद्ध पक्षसँग भयरहित र सुरक्षित वातावरण निर्माण गर्नको लागि ठोस कदम चाल्न आग्रह गरेको छ।

पार्टीले शान्ति र सुरक्षामा तत्काल सुधार ल्याउन र सुरक्षाकर्मीहरूको मनोबल उच्च बनाउन पनि आह्वान गरेको छ।

बैठकले राजनीतिक हिंसा र उत्तेजनाको बाटो नअपनाउन, संयमता अपनाउँदै संवादको माध्यमबाट समस्या समाधान गर्न आह्वान गरेको छ। साथै, पार्टीको महाधिवेशनका विषयमा एकता कायम गर्दै सर्वसम्मत निर्णय लिने प्रतिबद्धता जनाइएको छ।