न्युयोर्क, असोज ९ :

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीलाई भेटेर प्रवासी नेपाली मञ्चलगायत नेपाली समुदायका विभिन्न सङ्गठनले सो क्षेत्रमा महावाणिज्यदूतावास खोल्न माग गरेपछि प्रधानमन्त्री ओलीले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

क्यालिफोर्निया राज्यमा करिब एक लाख नेपाली रहेको छन् । हाल नेपालको महावाणिज्यदूतावास रहेको न्युयोर्क वा वासिङ्टन डिसीमा पुगेर सेवा लिन टाढा पर्ने भएकाले क्यालिफोर्नियाको सन फ्रान्सिस्को सहरमा कन्सुलर कार्यालय खोल्न नेपाली जनसम्पर्क समिति, नेपाली एशोसियसन अफ नर्देन क्यालिफोर्निया लगायत संस्थाबाट माग गरिएको थियो । 

महावाणिज्यदूतावास स्थापना भएमा राहदानी नवीकरणलगायत नेपाली समुदायले भोग्नुपरेका समस्याको धेरै हदसम्म सम्बोधन हुने भएकाले ती संस्थाहरूले सो क्षेत्रमा महावाणिज्यदूतावास खोल्न आग्रह रहेका हुन् ।

प्रधानमन्त्री ओलीले उक्त मागप्रति आफू सकारात्मक रहेको बताउँदै नेपाल सरकारले यसबारे छिट्टै निर्णय गर्ने विश्वास दिलाउनुभयो ।

क्यालिफोर्निया राज्य विज्ञान र प्रविधिको हबका साथै सिलिकन भ्यालीसमेत भएकाले त्यसबाट नेपाल र नेपालीहरुले व्यापारिक तथा प्रविधिगत लाभ लिनसक्ने मागपत्रमा उल्लेख गरिएको छ । 

उक्त समितिले परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई पनि भेटेर सोही माग राख्नुका साथै क्यालिफोर्निया भ्रमणको निमन्त्रणा दिएको छ ।

शिष्टताको परिचय दिन आग्रह

प्रवासी नेपाली समुदायका प्रतिनिधिले प्रधानमन्त्री ओलीलाई राष्ट्रसङ्घको सहभागिता र अमेरिका भ्रमण सफलताको कामना गर्दै नेपालको समृद्धि र विकासका लागि प्रवासमा रहेका नेपालीले पनि भूमिका खेल्ने जनाएका थिए ।

उनीहरूले दोहोरो नागरिकताका समस्या र नेपालको संविधान संशोधनका सवालबारे पनि विचारविमर्श गरेका थिए । 

प्रधानमन्त्री ओलीले नेपालीहरू जहाँ रहे पनि शिष्ट र मर्यादित हुनुपर्नेमा जोड दिँदै गैरआवासीय नेपाली सङ्घभित्र पनि विवाद भइरहने स्थिति अन्त्य हुनुपर्ने बताउनुभयो । 

प्रधानमन्त्री ओलीले एकपटकको नेपाली सधैँका लागि नेपाली हुने मान्यतासहित काम गर्न आग्रह गर्दै राजनीतिक अधिकार प्रयोग गर्नुपरेमा प्रवासको नागरिकता निस्क्रिय पारेर गर्न सकिने बताउनुभयो ।

यसैगरी क्यानडामा रहेका नेपाली समुदायका प्रतिनिधिले प्रधानमन्त्री ओलीलाई भेटेर नेपालमा क्यानाडाको दूतावास खोल्न पहल गर्न आग्रह गरेका छन् । हाल भारतमा गएर नेपालीले क्यानाडाको प्रवेशाज्ञा लिनुपर्ने लगायतका समस्या भएकाले नेपालमा दूतावास खोल्नुपर्ने उनीहरूको आग्रह थियो ।