काठमाडौं, मंसिर ११ :

कागेश्वरी मनोहरा नगरपालिकामा कलेजो सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्ने विशेष अस्पताल निर्माण हुने भएको छ।

मानव अङ्ग प्रत्यारोपण फाउन्डेसनको पहलमा बन्न लागेको यो अस्पताल जापान सरकारको सहयोगमा सञ्चालन हुने र पूर्ण रूपमा गैरनाफामूलक मोडेलमा आधारित रहने बताइएको छ।

नगरपालिकाभित्र आवश्यक जग्गा पहिचान गर्ने कार्य अन्तिम चरणमा पुगेको नगरप्रमुख उपेन्द्र कार्कीले जानकारी दिए। उनका अनुसार जापानी प्रविधिमा आधारित अत्याधुनिक कलेजो उपचार सेवा नेपालमै उपलब्ध गराउने उद्देश्यले अस्पताल निर्माणको प्रक्रिया सुरु गरिएको हो।

नगरप्रमुख कार्कीले भने, ‘नेपालमा कलेजो उपचारका लागि विशेष अस्पताल नहुँदा धेरै बिरामीहरू समस्यामा परिरहेका छन्। कलेजोसम्बन्धी रोग गम्भीर हुने भएकाले सर्वसुलभ र गुणस्तरीय सेवा दिन जापानीज टेक्नोलोजी प्रयोग गरेर यो परियोजना अघि बढाइएको हो। देशभरका नागरिकले यसबाट प्रत्यक्ष लाभ पाउनेछन्।’

कलेजो प्रत्यारोपण विशेषज्ञ डा. प्रदेज सापकोटाका अनुसार ‘नेपाल–जापान फ्रेन्डसीप अस्पताल’ नाम रहने यो संस्थामा मुख्य रूपमा कलेजो उपचार तथा प्रत्यारोपण सेवा प्रदान गरिनेछ।

नेपालमा कलेजो उपचारका लागि समर्पित अस्पताल अभाव भएकै कारण लगभग सय बेडको अत्याधुनिक अस्पताल निर्माण गर्न लागिएको उनले बताए।

डा. सापकोटाले जापानी प्रविधिबाट सुसज्जित आधुनिक उपकरण र सेवासहित अस्पताल सञ्चालन गरिने उल्लेख गर्दै यसले सबै नेपालीका लागि कलेजो उपचारको प्रमुख केन्द्रको रूपमा काम गर्ने दाबी गरे।

हाल कागेश्वरी मनोहरा नगरपालिकामा एक नगर अस्पताल तथा सबै वडाहरूमा स्वास्थ्य चौकी सञ्चालनमा छन्। नगरवासीको स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राख्दै नगरपालिका अघि बढिरहेको जनाएको छ।