
राष्ट्रिय प्रजातन्त्र पार्टीले सवै तहका समितिहरुको म्याद ६ महिना थप गर्ने निर्णय गरेको छ । बिहीबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचनका कारण पार्टीको महाधिवेशन तत्काल गर्न सम्भव नभएकाले सवै तहका समितिका सदस्यहरु र परिषद् सदस्यहरुको म्याद ६ महिना थप गर्ने निर्णय गरेको हो ।
बैठकले निर्वाचनपछि महाधिवेशन गर्ने गरि कार्यतालिका तयार गरि आगामी बैठकमा पेस गर्न पार्टीका उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री डा धवल शम्शेर राणा र सहमहामन्त्री प्रकाश रिमाल रहने गरि समिति गठन गरेको छ भने निर्वाचन र पार्टीको महाधिवेशनलाई मध्यनजर गर्दै हाल प्रक्रियामा रहेको पार्टीभित्रको कारवाहीको प्रक्रियालाई स्थगन गर्ने निर्णय गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
त्यसैगरी समान विचारधारा भएका पार्टी, अभियान, समूह तथा परिवर्तनकारी युवाहरुलाई एकीकृत गर्न बरिष्ठ उपाध्यक्ष बिक्रम पाण्डे, बुद्धिमान तामाङ र ध्रुव बहादुर प्रधान रहेका वार्ता समिति गठन गर्ने निर्णय भएको उहाले बताए । बैठकले पार्टीका मधेश प्रदेशसभा सदस्य कन्चन बिच्छालाई ६ महिनाका लागि साधारण सदस्यबाट निलम्वन गर्ने र प्रदेश सभा सदस्य तथा मन्त्री पदबाट फिर्ता हुन निर्देशन दिइएको अध्यक्ष लिङ्देनले जानकारी दिए ।
बैठकले संवैधानिक राजसंस्था, हिन्दु राष्ट्र पुनस्थापना, संघीयता खारेजी लगाएतका बिषयमा तत्काल समाधान खोज्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने निर्णय समेत गरेको छ भने आफ्ना मुद्धा स्थापित गराउन मंसिर २२ गते उपत्यका व्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ ।