
प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठको राजीनामा माग्दा सचिवालयबाट हट्नु परेको भन्दै तीनजनाले चर्को असन्तुष्टि व्यक्त गरेका छन् ।
सचिवालयका युवा तथा सामाजिक विकास विज्ञ प्रदीप ज्ञवाली, सूचना प्रविधि तथा सञ्चार विज्ञ अरुण कटुवाल र स्वकीय शाखा अधिकृत आकृति घिमिरेले विज्ञप्ति जारी गर्दै प्रतिशोध साँधेर नियुक्ति खारेज गरिएको जनाएका छन् ।
विज्ञप्तिमा उनीहरुले प्रधानमन्त्री कार्कीलाई प्रमुख स्वकीय सचिव श्रेष्ठले नै घेराबन्दीमा पारेर आफूहरुविरुद्ध प्रतिशोध साँधेको आरोप लगाएका छन् ।
श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयमा श्रीमतीसहित नातेदारलाई नियुक्ति दिएको भन्दै आलोचना भएको थियो । उनीहरुले पनि त्यसको विरोध गर्दै आएका थिए ।
विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनको मर्मविपरित नातावाद र कृपावादलाई प्रश्रय दिने नियुक्तिमा हाम्रो समर्थन रहने कुरै भएन । हामीले यसको आलोचना र विरोध दुवै गर्यौँ ।’
उनीहरुले प्रधानमन्त्रीले आफूलाई स्वार्थ समूहको चंगुलबाट निकाल्नैपर्छ र देशलाई नयाँ निकासको बाटोतर्फ लैजानको लागि हिम्मतका साथ काम गर्नुपर्ने बताएका छन् ।
र यो पनि…