
जेनजी आन्दोलनका क्रममा तोडफोड भएका विराटनगरको रानीदेखि बुढीगंगासम्मको कोसी राजमार्ग र विराटनगर क्षेत्रमा रहेको सीसीटीभी क्यामराहरु मर्मत सम्भार गरेर पुनः संचालनमा ल्याइने भएको छ ।
सीसीटीभी मर्मत सम्भारका लागि करिब साढे २४ लाख रुपैयाको लागत खर्च लाग्नेमा युएनभीले साढे १४ लाख रुपैया र मोरङ उद्योग व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ कोशी र नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले बाकी १० लाख रुपैया उपलव्ध गराउने भएका छन् ।
व्यवसायिक सामाजिक उत्तरदायित्व अर्थात सिएसआर अन्तर्गत मर्मत सम्भार हुन लागेको सो कार्यक्रमका लागि जिल्ला प्रहरी कार्यालय मोरङका र युनिभ्यु ब्राण्डको आयातकर्ता प्लाजा सेल्स प्रालिबीच सम्झौता भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटुवालले र्सार्वजनिक क्षेत्रको निगरानी प्रणालीका लागि सीसीटीभी क्यामेरा अपरिहार्य रहेको र सुरक्षा व्यवस्था मजबुत बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरे ।
जेनजी आन्दोलनका क्रममा धेरै सीसीटीभी क्यामेरा तोडफोड गरिएको थियो भने केही थान चोरि भएको थियो । विराटनगरको रानी देखि बुढीगंगा गाँउपालिका र विराटनगर क्षेत्रमा १५६ वटा सीसीटीभी क्यामेरा रहेकोमा जेनजी आन्दोलनका क्रममा १ सय २२ वटा क्षतिग्रस्त तुल्याइएको थियो भने हाल ३४ वटा मात्रै संचालनमा रहेका छन् ।