काठमाडौं, मंसिर १४ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकीकरण भएको छ। 

काठमाडौँको राष्ट्रिय सभागृहमा आइतबार आयोजित कार्यक्रममा दुई पार्टीबीच एकताको घोषणा गरिएको हो।

रवि लामिछाने नेतृत्वको रास्वपा र समीक्षा बास्कोटा नेतृत्वको विवेकशील साझाबीच एकता भएसँगै पार्टीको नाम रास्वपा नै रहने भएको छ।

एकताका लागि सहमति पत्रमा रास्वपाका तर्फबाट कार्यबाहक अध्यक्ष डोलप्रसाद अर्यालय र उपाध्यक्ष स्वर्णिम वाग्ले तथा विवेकशील साझाको तर्फबाट अध्यक्ष समीक्षा बास्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारले हस्ताक्षर गरेका छन्। एकतापछि पनि पार्टीको चिह्न घण्टी नै रहने भएको छ। पार्टी एकतामा विवेकशील पार्टीका नेता मिलन पाण्डे भने सहभागी छैनन्।

यस्ता छन् सहमति मुख्य ६ बुँदा:

१.रास्वपाको सिद्धान्त र नेतृत्व संरचना यथावत् रहनेछ। विवेकशील अभियानको योगदानलाई आधिकारिक रूपमा अभिलेखीकरण गरिनेछ।

२. रास्वपाले बनाएको विशेष संयन्त्र संघीय नेतृत्व मञ्चमा विवेकशील साझा हुँदै आएका नेताहरूलाई आपसी सहमतिमा समावेश गरिनेछ।

३. विवेकशील साझा पार्टीका सदस्य र सल्लाहकारलाई केन्द्रीयदेखि स्थानीय तहसम्म योग्यता र समावेशिताको आधारमा जिम्मेवारी बाँडफाँड हुनेछ।

४. एकीकरणपछि दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ। झण्डा र चुनाव चिन्ह पनि यथावत् रहनेछ।

५ .निर्वाचन आयोगमा आवश्यक कानुनी प्रक्रिया दुवै पार्टीले संयुक्त रूपमा पूरा गर्नेछन्। दुवै पार्टीका सम्पत्ति र संरचनाको व्यवस्थापन पनि आपसी सहमतिमा अघि बढाइनेछ।

६.सुशासन र समुन्नतिको एजेन्डामा गोलबद्ध हुँदै अन्य वैकल्पिक राजनीतिक शक्ति र व्यक्तिलाई सहकार्यका लागि आह्वान गरिएको छ।