
फाइल तस्बिर ।
नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रियामा विवादका कारण चार जिल्लामा चयन टुंगिन सकेको छैन। एक दर्जनभन्दा बढी जिल्लामा भने चुनावमार्फत प्रतिनिधि चयन भइसकेका छन्।
संगठन विभाग प्रमुख काशिनाथ अधिकारीका अनुसार अधिकांश जिल्लामा प्रतिनिधि चयन प्रक्रिया पूरा भइसकेको छ। उनका अनुसार अहिले बझाङ, तनहुँ, दैलेख र महोत्तरीमा छलफल जारी रहेकाले प्रतिनिधि चयन स्थगित भएको छ।
शनिबारसम्म सक्नुपर्ने भए पनि विवादका कारण लम्बिएको हो । मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनमा ७७ जिल्ला र प्रवासबाट करिब २३०० प्रतिनिधि सहभागी हुनेछन्।
कोसीका चार प्रदेशसभा सांसद पराजित
महाधिवेशन प्रतिनिधि छनोटका क्रममा कोसी प्रदेशका चार प्रदेशसभा सदस्य पराजित भएका छन्। पराजित हुनेमध्ये सुनसरीका दुई, झापाका एक र उदयपुरकी एक सांसद रहेका छन्।
सुनसरी क्षेत्र नं. १ मा सहमति जुट्न नसकेपछि भएको मतदानमा प्रदेशसभा सदस्य रमेशकुमार राई र विजयकुमार राई दुवै पराजित भए।
झापा क्षेत्र नं. ४ का राधाकृष्ण खनाल पनि विजय हासिल गर्न सकेनन्।
त्यस्तै, उदयपुरबाट समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बनेकी गीतादेवी रेग्मी पनि प्रतिनिधि बन्न असफल भइन्। यसैबीच, मोरङ क्षेत्र नं. २ बाट कोसी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लीला बल्लभ अधिकारी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।