धनगढी, मंसिर १६ :

गृहमन्त्री ओमप्रकाश अर्यालले केही हतियार फिर्ता नआएको र केही कैदी फरार रहेको भन्दै फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नहुने भन्ने शंका र भ्रम नफैलाउन आग्रह गरेका छन्। सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले सरकार तोकिएको मितिमै भयमुक्त, स्वच्छ र स्वतन्त्र वातावरणमा चुनाव गराउन पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारे।

मन्त्री अर्यालका अनुसार देशभर ४ हजार ५५२ कैदी फरारमध्ये जघन्य अपराधमा संलग्नको संख्या न्यून छ भने ७२७ थान हतियार सरकारले फिर्ता ल्याइसकेको छ। भदौ २३–२४ का घटनापछि प्रभावित सुरक्षा संयन्त्र सामान्य बन्दै गएको बताउँदै उनले सुशासन, विधिको शासन र भ्रष्टाचारविरुद्ध सरकार शून्य सहनशीलताका साथ काम गरिरहेको उल्लेख गरे।

उनले अराजकता नियन्त्रण, मनोवैज्ञानिक सुरक्षा चुनौती समाधान र समावेशी संवादलाई सरकारको प्राथमिकतामा रहेको बताए। सरुवा–बढुवामा निष्पक्षता अपनाइएको तथा सुरक्षा संयन्त्रलाई स्वायत्त र व्यावसायिक रूपमा काम गर्ने वातावरण सुनिश्चित गरिएको समेत उनले जानकारी दिए।

गोष्ठीमा सहभागी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले राज्यका सबै शक्ति एकीकृत भएर निर्वाचनको वातावरण बनाउन प्रयासरत रहेको र सुरक्षा फौज देशको अन्तिम भरोसा रहेको बताए।