बर्दिया, मंसिर २१ :

गृह मन्त्रालयले बर्दिया घटनाको छानबिन गर्न समिति गठन गरेको छ । बर्दियामा नागरिकतासम्बन्धी प्रशासनिक झमेलाका कारण दुई जनाले ज्यान गुमाएको घटना सार्वजनिक भएपछि गृहले छानबिन समिति गठन गरेको हो ।

घटनामा सत्यतथ्य छानबिन गर्न सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णय गर्दै, सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने गरी घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो। समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रूपमा जाँचबुझ गरी ५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी समितिलाई आदेश दिइएको छ।

नागरिकता नपाउँदा बर्दियाको बढैयाताल गाउँपालिका–४ दक्षिण भकारी गाउँकी अञ्जु थारुले कात्तिक २२ मा आत्महत्या गरिन् छोरीको मृत्युको शोकमा रहेका उनका बाबु कान्छाले पनि चार दिनपछि आत्महत्या गरे ।

प्रधानमन्त्री सुशीला कार्कीले समेत उक्त घटनामा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै शनिबार  उनले सत्यतथ्य बुझ्नका लागि गृहमन्त्री ओमप्रकाश अर्याललाई निर्देशन दिएकी थिइन् ।