पर्वत, असोज १० :

आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किएमा पर्वतको महाशिला गाउँपालिकाले एक लाख अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च प्रदान गर्ने भएको छ । 

गाउँलेहरू बसाइँ सर्न थालेपछी पालिकाले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताउनुभयो । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि यस्तो कार्यक्रम लागू गरेको हो । 

गाउँ छाडेर गएकाहरू फर्किएमा उनीहरूले अनुदान पाउने उहाँले बताउनुभयो। गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा अन्न फलाउन कम्तीमा छ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यहरूको भरणपोषणका निम्ति गाउँपालिकाले नै खाद्यान्न उपलब्ध गराउने छ ।

चामल, दाल, तेल, तरकारीका निम्ति पनि अनुदान दिइने उहाँले बताउनुभयो । 

अध्यक्ष भुसालले एक वर्षमा आफ्नो पालिकाबाट ९३ परिवारका तीन सय २५ जना बसाइँ सरेको पनि जानकारी दिनुभयो।