
भक्तपुर, मंसिर २७ :
नेकपा एमालेको एघारौं महाधिवेशन उद्घाटन समारोहका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। उद्घाटन समारोह स्थलको सुरक्षा सुनिश्चित गर्न विशेष तालिम प्राप्त कुकुरसहित प्रहरी टोली परिचालित गरिएको छ।
प्रहरीले समारोह स्थल वरपर कुकुर डुलाएर विष्फोटक पदार्थ तथा हतियारको पहिचान गरिरहेका छन्। कुकुरहरुले बम र विष्फोटक पदार्थ सुँघेर पत्ता लगाउने काम गरिरहेका छन् भने बम डिकेटर उपकरणसहित प्रहरी टोली पनि सुरक्षा निगरानीमा खटिएका छन्।
उदघाटन समारोह भक्तपुरको सल्लाघारीमा रहेको सार्वजनिक जग्गामा आयोजना हुँदैछ। यसअघि नै एमाले कार्यकर्ताहरु समारोह स्थलमा आइपुगेका छन्।
उदघाटन समारोह आज मध्याह्न १२ बजेदेखि सुरु हुने एमालेले जानकारी दिएको छ। कार्यक्रममा पार्टीका वरिष्ठ नेताहरु, कार्यकर्ताहरु र विभिन्न सामाजिक प्रतिनिधिहरु सहभागी हुनेछन्।