काठमाडौं, मंसिर २९ :

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘फुटबलको पेले’ भनेर प्रशंसा गर्ने नेता कृष्णगोपाल श्रेष्ठ अहिले ईश्वर पोखरेल समूहमा खुलेका छन्। श्रेष्ठ २०७८ सालमा शिक्षामन्त्री हुँदा ओलीलाई शक्तिशाली भन्दै पेलेसँग तुलना गरेका थिए। त्यो भाषण त्रिवि दीक्षान्त समारोहमा चर्चित पनि बन्यो।

राजनीतिमा लामो अनुभव भएका श्रेष्ठ पहिले पनि प्रतिनिधिसभा सदस्य रहिसकेका छन्। उनी २०४८, २०५१ र २०७४ मा विभिन्न निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए र २०७९ मा काठमाडौं-९ बाट फेरि प्रतिनिधिसभा सदस्य बनेका थिए।

विद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गरेका श्रेष्ठ २०३५ सालदेखि नेकपा (माले) मा सक्रिय थिए। उनी अनेरास्ववियुको त्रिवि कमिटी अध्यक्ष र विभिन्न जिल्ला कमिटीमा जिम्मेवारीमा रहिसकेका छन्। २०४९ मा उनी एमालेको राष्ट्रिय परिषद सदस्य बने र २०५४ मा केन्द्रीय सदस्य चयन भए।