
नेकपा (एमाले) को महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान नजिकिँदै जाँदा प्रचार–प्रसार तीव्र बनेको छ । विभिन्न पदका उम्मेदवारहरूको पक्षमा मत माग्नेहरूको प्रदर्शनीमार्ग क्षेत्रमा चहलपहल बढेको छ ।
यसैक्रममा गायिका ज्योति मगर पनि महाधिवेशनको प्रचारमा देखिएकी छन् । युवाहरू नेतृत्वमा आउनुपर्ने धारणा राख्दै उनी उम्मेदवारहरूको पक्षमा मत माग्दै प्रचारमा सहभागी भएकी हुन् ।
केही समयअघि उनी आदिवासी खुलातर्फ केन्द्रीय सदस्यका उम्मेदवार पूर्णबहादुर गुरुङको पक्षमा मत माग्दै गरेको अवस्थामा देखिएकी थिइन् । तनहुँ घर भएका गुरुङ एमाले गण्डकी प्रदेश कमिटीका सदस्यसमेत हुन् ।केन्द्रीय कमिटीका ३०१ पदका लागि ६०३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
पदाधिकारीतर्फ अध्यक्ष पद (१) का लागि २ जना, उपाध्यक्ष (५) का लागि ११ जना, महासचिव (१) मा २ जना, उपमहासचिव (३) मा ७ जना र सचिव (९) पदका लागि २० जनाले उम्मेदवारी दिएका छन् । पदाधिकारी पदमा उम्मेदवारी दिएका नेताहरूले केन्द्रीय सदस्य पदमा समेत मनोनयन दर्ता गराएका छन् । मतदान दिउँसो ३ बजेपछि हुने जनाइएको छ । नेताहरु धमाधम मतदान स्थल पुग्ने क्रम जारी रहेको छ । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । महाधिवेशन अन्तर्गत हुने मतदानले एमालेको आगामी नेतृत्व संरचना तय गर्नेछ ।