
जेनजी आन्दोलन जाँचबुझ आयोगले आगामी साता राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आयोगको प्रगति र आगामी कार्ययोजनाबारे जानकारी गराएका हुन् ।
भेटका क्रममा उनले आयोगको कार्य अवधि एक महिना थप गर्न प्रधानमन्त्रीसँग आग्रह समेत गरेका थिए । यसअघि मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगको कार्यादेश (टर्म्स अफ रेफरेन्स) थप गर्ने निर्णय गरिसकेको छ ।
पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकसँग बयान लिन बाँकी छ । यद्यपि ओलीले आयोगलाई बयान नदिने बताउँदै आएका छन् । आयोगले प्रधानसेनापति बाहेक अन्य सुरक्षा प्रमुखहरुसँग बयान लिइसकेको छ । आयोगले सोही निर्णयअनुसार अनुसन्धानलाई थप प्रभावकारी बनाउँदै राजनीतिक तहसम्म बयान लिने तयारी गरेको हो ।