काठमाडौं, पुस ४ :

कागेश्वरी मनोहरा नगरपालिकाले ‘मेयरसँग उद्यमशीलता कार्यक्रम’लाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ । नगरपालिकालाई सिताके च्याउ खेतीको केन्द्र (हब) बनाउने उद्देश्यसहित सञ्चालन गरिएको यो कार्यक्रम प्रभावकारी बन्दै गएपछि निरन्तरता दिइएको हो ।

नगर प्रमुख उपेन्द्र कार्कीको पहलमा गत आर्थिक वर्षदेखि सुरु गरिएको ‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ अन्तर्गत नगर क्षेत्रमा सिताके च्याउ खेती विस्तार गरिँदै आएको छ । नगरलाई च्याउ उत्पादनमा आत्मनिर्भर बनाउने र स्थानीय उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको नगरपालिकाले जनाएको छ ।

गत आर्थिक वर्षमा ५ वटा कृषि सहकारीमार्फत सञ्चालन गरिएको सिताके च्याउ खेतीलाई यस वर्ष २० वटा सहकारी तथा कृषि फर्मसम्म विस्तार गर्ने नगरपालिकाको लक्ष्य छ ।

यसैक्रममा बिहीबार नगरपालिकाको सहकारी तथा उद्यम विकास शाखाले सूचना जारी गर्दै नगरपालिका भित्र रहेका सहकारी संस्था तथा इच्छुक कृषि फर्महरूलाई आवश्यक कागजातसहित १५ दिनभित्र प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।

सहकारी तथा उद्यम विकास शाखा प्रमुख विश्वास ज्ञावालीका अनुसार इच्छुक सहकारी संस्था तथा कृषि फर्महरूले आवेदनसँगै सञ्चालक समितिको निर्णय, आर्थिक प्रस्ताव तथा कृषि फर्म दर्ता प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।

नगरपालिकाले सिताके च्याउ खेतीका लागि सहकारी तथा कृषि फर्महरूलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा नव कान्तिभैरव बहुउद्देश्यीय सहकारी, गणनायक कृषि सहकारी, करेसाबारी कृषि सहकारी, मिलिजुली दिदीबहिनी कृषि सहकारी र सिहंदेवी कृषि सहकारी संस्थाले नगरपालिकाको ५० प्रतिशत अनुदानमा सिताके च्याउ खेती सुरु गरेका थिए । हाल ती सहकारीहरूले व्यावसायिक रूपमा सिताके च्याउ उत्पादन सुरु गरिसकेका छन् ।

नगरपालिकाले आगामी दिनमा उत्पादन, बजारीकरण तथा सीप विकासका कार्यक्रमलाई समेत समेट्दै सिताके च्याउ खेतीलाई नगरको पहिचानका रूपमा स्थापित गर्ने योजना बनाएको छ ।