
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद् पुनर्स्थापनाका लागि पुराना दलका नेताहरूबाट भइरहेको दौडधुपप्रति कडा आपत्ति जनाएका छन्।
आइतबार पार्टीको केन्द्रीय कार्यालय वनस्थली पुगेका लामिछानेले संसद् पुनर्स्थापनासम्बन्धी गतिविधिबारे आफूले सूचना पाएको भन्दै यसलाई षड्यन्त्रको रूपमा व्याख्या गरेका छन्। उनले यस्ता गतिविधिमा संलग्नलाई षड्यन्त्रको आँखा बन्द गर्न चेतावनीसमेत दिएका छन्।
लामिछानेले भने, ‘म सुनिरहेको छु, संसद् पुनर्स्थापनाका लागि दौडधुप गर्न थाले रे। कुन संसद् पुनर्स्थापनाको कुरा गर्न लाग्नुभएको? कुन संसद् ब्युँझाउन खोज्नुभएको? जनताका मुद्दा राख्दाराख्दै माइक काट्ने संसद् ब्युँझाउन खोज्नुभएको?’ उनले थप भने, ‘षड्यन्त्रको आँखा बन्द गर्नुहोला, धेरै आँखा नचम्काउनुहोला।’
सभापति लामिछानेले अहिलेको अवस्थामा केवल संरचना पुनर्निर्माण मात्र पर्याप्त नभएको भन्दै व्यवस्था र सोच दुवै परिवर्तन आवश्यक रहेको बताए। ‘सिंहदरबार बनाएर मात्रै हुँदैन, सिंहदरबार बदल्नु छ,’ उनले भने, ‘भत्किएका संरचना बनाउने मात्रै होइन, बदल्ने पनि छ। जेन जीले गरेको योगदानलाई पूरा गर्नका लागि सबैले जिम्मेवारीका साथ लाग्नुपर्नेछ।’