मोरङ, पुस ७ :

प्रहरीले विराटनगरमा सञ्चालनमा रहेको क्यासिनोमा गए राति छापा मारको छ । छापा मार्ने क्रममा २० जना पक्राउ परेका छन् ।

विराटनगरमा रहेको गोल्डेन कोइन क्यासिनो र च्याम्पियन जोन क्यासिनोमा प्रहरीले छापा मारेको हो ।

छापा मार्दा गोल्डेन कोइन क्यासिनोबाट महाप्रबन्धक लोकेन्द्र बहादुर बस्नेतसहित १४ जना र च्याम्पियन जोन क्यासिनोबाट व्यवस्थापक रामकृष्ण गौतमसहित ६ जनालाई पक्राउ गरिएको मोरङ प्रहरीले  जनाएको छ ।

नेपालीहरुलाई प्रवेशमा रोक लगाईएको क्यासिनोमा प्रहरीले छापा मार्दा नेपाली भेटिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । निषेध भएको ठाउँमा प्रवेश गराएको देखिएकाले व्यवस्थापक सहितलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अन्यको नाम प्रहरीले सार्वजनिक गरेको छैन । क्यासिनोमा छापा हानेर पक्राउ गरेकाहरूमाथि स्कृनिङ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । प्रवेश निषेध रहेको क्यासिनोमा नेपाली छिरेर निर्बाध जुवाजन्य खेल खेल्ने गरेको सूचना प्राप्त भएकोले जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले छापा मारेर उनीहरुलाई पक्राउ गरिएको हो ।