
नेपाली महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले नेपाली खेलाडीका साथै नागरिकस्तरमा समेत रहेको लगाव नेपाली टोली विश्वकपमा छनोट मुख्य आधार रहेको बताउनुभएको छ ।
नेपाल क्रिकेट सङ्घ क्यानद्वारा आज आयोजित अन्तक्र्रियामा मुख्य प्रशिक्षक पाठकले घरेलु दर्शकको अपार मायाका कारण नेपाली टोलीलाई जित्नका लागि खेल्ने प्रेरणा मिलिरहेको बताए ।
आफूले यसअघि थाइल्यान्डको प्रशिक्षक रहँदा विपक्षी रूपमा पनि राम्रोसँग हेरेको बताउँदै उनले नेपाली टोली विश्वकपमा छनोट हुने विश्वास व्यक्त गरे । उनले भने, ‘नेपाली टोलीमा खेलेरै सिक्ने अद्भूत क्षमता छ ।’
नेपाल क्रिकेट सङ्घ क्यानले आसन्न आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटलाई लक्षित गरेर पहिलोपटक विदेशी मुख्य प्रशिक्षकका रूपमा पाठकलाई नियुक्त गरेको थियो ।
‘नेपाली टोलीमा राम्रो गर्नसक्ने क्षमता पनि छ । विश्वकपमा छनोट हुने सम्भावना राम्रो नै देखेको छु’, मुख्य प्रशिक्षक पाठकले भने । राम्रो योजना बनाएर कार्यान्वयन गर्न सके नेपाली महिला क्रिकेट टोलिले उत्साहपूर्ण नतिजा दिनसक्ने भनाइ उनको थियो।
क्यानका क्रिकेट प्रबन्धक विनोद दासले पाठक आगामी दुई वर्षका लागि महिला टोलीको प्रशिक्षक नियुक्त गरिनुभएको जानकारी दिए । भारतीय मूलका पाठकले सन् २०१८ देखि सात वर्षसम्म थाइल्यान्डको प्रशिक्षक रहँदा एसिया छनोट र ग्लोबल छनोट दुवै पार गराएर थाइल्यान्डलाई पहिलोपटक महिला टि–२० विश्वकपमा पुर्याएको यियो ।