काठमाडौं, पुस १० :

वैकल्पिक शक्ति निर्माणको प्रयासअन्तर्गत विभिन्न राजनीतिक नेता र अभियन्ताहरूबीच भेटघाट र छलफल तीव्र बन्दै गएको छ। पछिल्ला दिनमा निरन्तर भइरहेको भेटवार्ताले नयाँ राजनीतिक ध्रुवीकरणको संकेत देखिन थालेको छ।

यसैक्रममा भौतिक, ऊर्जा तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच ललितपुरको ज्वागलस्थित कुमार बेनको निवासमा भेटवार्ता भएको छ। बेन मेयर शाहका सल्लाहकार हुन्। स्रोतका अनुसार उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका घिसिङ र मेयर शाहबीच आगामी निर्वाचन र वैकल्पिक राजनीतिक शक्तिहरूको सहकार्यबारे छलफल भएको हो।

यसैबीच, घिसिङसँगको भेटपछि मेयर शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटघाटमा छन्। उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य अभिषेक सिंहका अनुसार वैकल्पिक शक्तिहरू मिलेर अघि बढ्ने विषयमा छलफल चलिरहेको छ र केही दिनमै निष्कर्ष निकाल्ने तयारी भइरहेको छ।

वैकल्पिक शक्ति निर्माणकै सन्दर्भमा रास्वपा सभापति रवि लामिछाने, मेयर बालेन शाह, कांग्रेस नेता सुनील शर्मा, जेनजी अभियानबाट चर्चामा आएका सुदन गुरुङ कुपेण्डोलस्थित कुमार बेनको घरमा भेला हुँदैछन्। वैकल्पिक अभियान चलाइरहेका सागर ढकाल पनि छलफलमा सहभागी भएका छन् भने सुदन गुरुङ यसअघि नै त्यहाँ पुगिसकेका छन्। लामिछानेसँग असिम शाह र गणेश कार्की पनि सहभागी छन्।

यसअघि सोमबार राति रवि लामिछाने र मेयर शाहबीच लामो समय छलफल भएको थियो। उक्त छलफलमा सरकार र पार्टी नेतृत्वको भूमिकाबारे विभिन्न प्रस्तावहरू आएका थिए। ठोस सहमति नभए पनि छलफल सकारात्मक रहेको उनीहरू निकट नेताहरूको भनाइ छ।

पछिल्ला दिनमा मेयर बालेन शाहको राजनीतिक सक्रियता उल्लेखनीय रूपमा बढेको छ। उनले विभिन्न राजनीतिक शक्ति, नेता तथा जेनजी अभियन्तासँग लगातार भेटघाट र छलफल गरिरहेका छन्।