काठमाडौं, पुस ११ :

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच जारी संवादलाई निष्कर्षमा पुर्‍याउन सहकर्मीहरू सक्रिय भएका छन्। दुई नेताबीच दुई चरण वार्ता गराएका असीम शाह, आसिफ शाह र कुमार बेनले विस्तृत सहमतिको खाका तयार पारिरहेका छन् ।

निकट स्रोतका अनुसार आज शुक्रबार रातिसम्म संवादले अन्तिम टुंगो पाउने र पार्टी एकता वा सहकार्यको घोषणा हुन सक्नेछ। प्रस्तावित एकीकृत संरचनामा बालेनको वरियता रवि भन्दा पछि रहने छ । पहिलो चरणमै बालेनलाई प्रधानमन्त्री बनाउने प्रतिबद्धतामा रवि कायम रहेको बताइएको छ।

बिहीबार अपराह्न भएको भेटमा पार्टीको नाम, चुनाव चिह्न र उम्मेदवार अनुपातलगायत विषयमा छलफल भएको जनाइएको छ। रास्वपाको चुनाव चिह्न ‘घण्टी’अन्तर्गत अघि बढ्न बालेनलाई आपत्ति नभएको बुझिएको छ। सहकर्मीहरूका दबाबपछि संवाद पुनः सकारात्मक दिशातर्फ गएको र नयाँ राजनीतिक शक्तिहरूबीच एकताको अपेक्षा बढेको छ।