काठमाडौं, पुस १३ :

 साप्ताहिक कारोबारको पहिलो दिन आइतबार सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। अघिल्ला केही दिन झिनो अंकले मात्र बढ्दै आएको नेप्से परिसूचक आइतबार दोहोरो अंकले उकालो लागेको हो।

आइतबार नेप्से ४७.५५ अंकले बढ्दै २ हजार ६ सय ३३.४२ विन्दुमा पुगेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा १.८३ प्रतिशतले बढी हो। चार कारोबार दिनपछि नेप्से पुनः २६ सय विन्दुमाथि उक्लिएको हो। गत आइतबार १९.९२ अंकले घटेर नेप्से २ हजार ५ सय ९५.१० विन्दुमा झरेको थियो।

आइतबार कारोबारमा सहभागी २३८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको सेयर मूल्य घटेको छ। कारोबारमा आएका १३ वटै उपसमूहमा हरियाली देखिएको छ। तीमध्ये निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन समूहमा सबैभन्दा बढी वृद्धि देखिएको छ।

कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा उल्लेख्य रूपमा बढेको छ। आइतबार ८९ हजार २५१ पटकको कारोबारमा १ करोड ३४ लाख ६८ हजार १४५ कित्ता सेयर किनबेच हुँदा कुल ५ अर्ब ५३ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यसअघि बिहीबार बजारमा ३ अर्ब २२ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

राजनीतिक अन्योल विस्तारै समाधान हुने संकेत देखिएपछि लगानीकर्ताको मनोबल बढेको विश्लेषकहरू बताउँछन्। प्रधानमन्त्री सुशीला कार्कीले विघटित संसद्का प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनमा जाने प्रतिबद्धता जनाइएको थियो।

त्यसैगरी शनिबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच सहमति जुटेको खबरले पनि बजारलाई सकारात्मक सन्देश दिएको छ।