
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको छ । पार्टीकी सह–अध्यक्ष रेणु यादवले बहुमत केन्द्रीय सदस्यसहित जसपा नेपालसँग एकता गर्ने निर्णय गरेकी छन् ।
रेणु यादव र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आज संयुक्त विज्ञप्ति जारी गर्दै जनता समाजवादी पार्टीको एक समूह जसपा नेपालसँग पार्टी एकीकरण भएको जानकारी दिएका हुन् । विज्ञप्तिमा बहुमत केन्द्रीय सदस्यहरूको समर्थनसहित एकीकरण गरिएको उल्लेख छ ।
हिजो मात्रै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच पनि पार्टी एकता गर्ने सहमति भएको थियो ।
अशोक राईले उपेन्द्र यादवसँग अलग भएर २०८१ वैशाख २३ गते जनता समाजवादी पार्टी गठन गरेका थिए । पछिल्लो समय अध्यक्ष राई नेकपा एमालेसँग एकता गर्न लागेपछि पार्टीभित्र असन्तुष्टि बढ्दै गएको थियो । सोही असन्तुष्टिको परिणामस्वरूप पार्टी विभाजन भएको बताइएको छ ।