
पुस १६ :
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक ओमप्रकाश रानाबीच भेटवार्ता भएको छ ।
आज धनगढीमा भएको भेटवार्तामा मुख्यमन्त्री शाहले प्रदेशमा बढ्दो लागुऔषध दुरुपयोग नियन्त्रण तथा निरुत्साहित गर्न प्रभावकारी कदम चाल्न प्रहरी प्रशासनले सक्रियता बढाउनुपर्ने भन्दै प्रमुख रानालाई निर्देशन दिएका मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
लागुऔषधले युवापुस्तामा नकारात्मक प्रभाव पारिरहेको उल्लेख गर्दै उनले यसको नियन्त्रणमा प्रदेश प्रहरीको भूमिकालाई अझ सशक्त बनाउन आवश्यक रहेको बताए । मुख्यमन्त्री शाहले प्रदेशको समग्र शान्ति सुरक्षा अवस्थाबारे जानकारी लिँदै सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका छन् ।