
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा चुनावपछि महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन्। शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा खड्काले चुनावपछि महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेका हुन्।
खड्काले पेस गरेको कार्यतालिकाअनुसार २०८३ साल वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ। तर, उनको प्रस्तावप्रति पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहमत देखिएका छैनन्। महामन्त्रीद्वयले नयाँ नेतृत्व चयन गरेर मात्रै चुनावमा जानुपर्ने अडान राख्दै आएका छन्।
महामन्त्रीद्वयले यसअघि २७ देखि २९ पुससम्म विशेष महाधिवेशन बोलाउने तयारी थालेपछि कांग्रेसभित्र गुटगत विवाद थप चुलिएको छ। उनीहरूको दबाबपछि पार्टीले २६ देखि २९ पुससम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो।
नियमित महाधिवेशन नहुने भएपछि महामन्त्रीद्वयले विधानअनुसार विशेष महाधिवेशन गर्नुपर्ने अडान लिएका छन्। तर, संस्थापन समूह विशेष महाधिवेशनको पक्षमा देखिएको छैन।
महाधिवेशनको मिति र प्रकृतिलाई लिएर कांग्रेसभित्र देखिएको यो मतभेदले पार्टीको आन्तरिक राजनीति थप जटिल बन्दै गएको छ।