काठमाडौं, पुस २० :

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घटेका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगसमक्ष तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले लिखित बयान दिएका छन्।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोग स्रोतका अनुसार एक सहसचिव ओलीको गुण्डुस्थित निवासमै पुगेर लिखित प्रश्नावलीमार्फत बयान लिएका हुन्। 

यसअघि सार्वजनिक रूपमा घटनाको जिम्मेवारी नलिने र आयोगसमक्ष बयान नदिने अडान लिँदै आएका ओलीले अन्ततः लिखित रूपमा आफ्नो भनाइ दिएका हुन्। तर उनले बयानमा के–के उल्लेख गरेका छन् भन्ने विषय आयोग स्रोतले सार्वजनिक गर्न चाहेको छैन।

आयोग स्रोतले भन्यो, ‘ लिखित रूपमा उहाँको बयान प्राप्त भइसकेको छ।’ ओलीको बयान प्राप्त भएसँगै अब आयोगले प्रतिवेदन टुंग्याउने तयारी अघि बढाएको जनाएको छ।

जेनजी आन्दोलन छानबिन आयोगद्वारा पूर्वप्रधानमन्त्री ओलीलाई बयानका लागि पत्र
 

आयोगले छानबिनको काम अन्तिम चरणमा पुर्‍याए पनि ओलीको बयान नआएका कारण औपचारिक रूपमा काम सक्न सकेको थिएन। यसअघि आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखक, सुरक्षा निकायका प्रमुखहरू तथा अन्य जिम्मेवार पदाधिकारीहरूसँग पनि बयान लिइसकेको छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला ओली प्रधानमन्त्री थिए। आन्दोलनमा १९  युवाको सुरक्षाकर्मीको गोलीबाट ज्यान गएको थियो। त्यसको विरोधमा भोलिपल्ट  आन्दोलन उग्र बनेपछि राष्ट्रपति निवास शितल निवास, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका मुख्य भवनसहित विभिन्न प्रहरी कार्यालयमा तोडफोड भएको थियो। आन्दोलनकारी बालुवाटार प्रवेश गरेपछि ओलीले राजीनामा दिएर सेनाको हेलिकोप्टरमार्फत बालुवाटार छोडेका थिए।

आयोगका प्रवक्ता विज्ञानराज शर्माले ओलीको स्टेटमेन्ट आयोगमा प्राप्त भइसकेको जानकारी दिँदै अब स्थानहद सम्बन्धी निर्णय लिइने बताए।