काठमाण्डौँ , असोज १२ :

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अहिले मानवता इतिहासकै कठिन मोडमा रहेकाले मानवहितका लागि विश्व नै एक हुनुपर्ने अवस्था आएको बताउनुभएको छ । 

संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन हाल अमेरिकाको न्युयोर्कमा रहनुभएकी मन्त्री डा राणाले बिहीबार सम्पन्न एशियाली कोअपरेसन डायलग (एसिडी) मा संलग्न देशहरूका मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उक्त धारणा राख्नुभएको हो । 

बैठकमा उहाँले भन्नुभयो, “हामीहरु अहिले विश्वमा सबैभन्दा बढी समस्यामा रहेका छौँ । एका तर्फ हाम्रो साझा घर पृथ्वीले जलवायु परिवर्तनको असरका कारण दिनप्रतिदिन नसोचिएको समस्या झेलिरहेको छ । हिमालहरू पग्लिनेक्रम तीव्र बन्दैछ ।

हिमताल फुटेर कहाँ कतिबेला बाढी आउँछ र मानवीय क्षति गर्छ भन्ने त्रास बढेको छ । मानवनिर्मित विकासका संरचना तथा पूर्वाधारसमेत भत्किँदै छन् । असमयमै बाढीको प्रकोप बढ्दै गएको छ । मानवीय सभ्यताको विनाश सुरु भएको त होइन भन्ने त्रास देखिँदैछ ।” 

यस्ता समस्याबाट नेपालजस्ता विकासशील राष्ट्रहरू, भूपरिवेष्‍टित राष्ट्रहरू तथा विश्वका अतिकम विकसित राष्ट्रहरू बढी मारमा परिरहेका मन्त्री डा राणाको भनाइ थियो । 

त्यसैले यी देशहरूलाई सहयोगको बढी खाँचो परिरहेकाले ‘क्लाइमेट जस्टिस’ का लागि ‘क्लाइमेट फाइनान्सिङ’ आवश्यक रहेको उहाँले बताउनुभयो । यस्तो समस्यामा परेका देशहरुलाई दिगो विकासका लागि सहयोग बढाउन मन्त्री डा राणाले आग्रह गर्नुभयो । 

एका तर्फ प्राकृतिक विपत्तिमा छौँ भने अर्का तर्फ अहिले पनि विश्वका विभिन्न ठाउँमा मानव सिर्जित हिंसा र द्वन्द्वको सिकार बनिरहेका छौँ । विभिन्न नाम र बहानामा बढ्दो हिंसा तथा द्वन्द्वले सिङ्गो मानवतालाई नै क्षति गरिरहेको उहाँको भनाई थियो ।

जसको परिणाम स्वरुप देशहरू र मानिसबीचमै आर्थिक, प्राविधिक असमानता तथा ‘डिजिटल डिभाइड’ को अवस्था सिर्जना भइरहेको छ ।” यस्तो अवस्थामा एशियाली मुलुकमा शान्ति, अमनचैन र समृद्धिका लागि एशियाली देश र जनताबीचको सहकार्यको खाँचो अझ बढी महसुस भइरहेको उहाँले बताउनुभयो । 

मन्त्री डा राणाले एशियाली देशहरूले यस्ता समस्यासँग जुध्न कस्तो रणनीति बनाएर कसरी अगाडि बढ्ने र सबै किसिमका समस्याको सामना गर्ने भन्नेबारेमा सोच्नपर्नेमा पनि जोड दिनुभयो ।

उहाँले एशिया बहुसंस्कृति, ज्ञान तथा प्राचीन सभ्यताको सम्पन्न भूमि रहेकाले हाल विश्वमा देखापरिरहेको मानवताको सङ्कटको निकासका लागि पनि एशियाले भूमिका निर्वाह गर्नसक्ने बताउनुभयो ।