ललितपुर, पुस २२ :

नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष केपी ओलीलाई दिएको छ ।

मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अन्य दलसँग छलफल गरि उम्मेदवारको टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष केपी ओलीलाई दिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र जसपा नेपालसँग तालमेल गर्ने सहमति भसकेको भन्दै भट्टले चुनावी तालमेल गर्दा पार्टीले ७ सीट दाबी गरेको बताए । 

हरेक प्रदेशमा एकजना पर्ने गरी ७ जनाको प्रतिनिधित्व हुने गरि पार्टी अध्यक्षले उम्मेदवारको टुङ्गो लगाउने उनले बताए । भट्टले राष्ट्रिय सभामा मिलेर जाने भन्नेबारे सहमति भएपनि प्रतिनिधिसभाबारे अहिलेसम्म कुनै छलफल नभएको उल्लेख गरे ।

बैठकले अध्यक्ष केपी ओलीको संयोजकत्वमा आम निर्वाचन घोषणा पत्र मस्यौदा समिति गठन गरेको छ भने उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको उपमहासचिप भट्टले जानकारी दिए । त्यसैगरी बैठकले पार्टीका पदाधिकारी र केन्द्रीय कमिटीका सबै सदस्यहरुलाई निर्वाचन केन्द्रीत कार्यविभाजन गरेको उनले बताए ।

बैठकमा अध्यक्ष ओलीले एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू आफैं निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र गरिरहेको बताए ।

त्यस्तै  सर्वोच्च अदालतका न्यायाधीशहरूलाई समेत निरन्तर दबाब र धम्की दिने र संसद् पुन:स्थापना हुन नदिने कार्यमा दबाब दिइरहेको उल्लेख गर्दै उनले यसले लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रश्न उठाएको धारणा राखेका थिए ।