
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले राष्ट्रिय सभाको निर्वाचनमा तीन सिट पाएको छ । एमालेसँगको तालमेलमा पाएको नौ सिटमध्ये कोइराला समूहलाई संस्थापन पक्षले तीन सिट दिएको छ । अन्य ६ जनामा सभापति शेरबहादुर देउवानिकट नेताहरू सिफारिसमा परेका छन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मानिकट कसैलाई पनि सिफारिस गरिएको छैन ।
कोइराला समूहले मधेश प्रदेशमा रञ्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा र लुम्बिनी प्रदेशबाट बासुदेव जंगलीलाई उम्मेदवार बनाएको छ ।यसैगरी कांग्रेसबाट कोशी प्रदेशबाट सुनिलबहादुर थापा (अन्य), मधेश प्रदेशबाट धर्मेन्द्र पासवान (दलित), गण्डकी प्रदेशबाट जगत तिमिल्सिना (अन्य), लुम्बिनी प्रदेशबाट चन्द्रबहादुर केसी (अन्य), कर्णाली प्रदेशबाट ललतिजंग शाही (अन्य) र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती (अन्य)लाई उम्मेदवार बनाइएको छ ।
आफ्ना मान्छेलाई मनलाग्दी उम्मेदवार बनाएको भन्दै महामन्त्रीद्वय थापा र शर्माले असहमति जनाउँदै आएका छन् । उनीहरुले विधि र विधानलाई मिच्ने काम भएको जनाउँदै यसले पार्टीलाई नै घाटा हुने बताए । उनीहरु अहिले विशेष महाधिवेशनको तयारीमा जुटेका छन् ।